यस वर्षको भदौ महिनामा अन्य महिनाहरूभन्दा धेरै नेपाली फिल्महरू प्रदर्शनमा आउने भएका छन्। निर्माताहरूबीच चाडपर्वका बिदाको अवसरमा फिल्म रिलिज गर्ने होडबाजी देखिएको छ, जसले गर्दा भदौका हरेक शुक्रबार नयाँ फिल्महरू प्रदर्शनमा आउँदै छन्। कतिपय हप्तामा त तीनवटा फिल्म एकसाथ प्रदर्शन हुने तयारीमा छन्, जसले हलमा सो पाउन पनि प्रतिस्पर्धा हुने निश्चित छ।
वैशाखदेखि साउनसम्म जम्मा १४ नेपाली फिल्महरू प्रदर्शनमा आए, जसमध्ये ‘ऊनको स्विटर’, ‘जार’, ‘के घर के डेराः घर नं २’, ‘मोहर’ र ‘सिटामोल’ ले राम्रो समीक्षात्मक प्रतिक्रिया पाए। यद्यपि, ‘ऊनको स्विटर’ बाहेक अन्य फिल्महरूले बक्स अफिसमा खासै सफलता पाउन सकेनन्। गत वर्षको तुलनामा यो वर्षको सुरुवातमा नेपाली फिल्म बजार केही सुस्ताएको भए पनि, भदौमा आउने यी आठ फिल्मले फिल्मकर्मीहरूमा नयाँ आशा जगाएको छ।
भदौको पहिलो साता
यस हप्ता तीन फरक जनराका फिल्महरू ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, र ‘ताराहरू’ एकसाथ प्रदर्शनमा आएका छन्।
‘माग्ने राजा’: कमेडी जनराको यो फिल्ममा केदार घिमिरेले पहिलोपटक मुख्य भूमिकामा अभिनय गरेका छन्। आठ वर्षपछि निर्देशनमा फर्किएका ऋषि लामिछाने निर्देशित यो फिल्म एक सामान्य व्यक्तिको धनी बन्ने सपनामा आधारित छ। यसमा वर्षा शिवाकोटी, विल्सनविक्रम राई लगायतका कलाकारहरूको अभिनय रहेको छ।
‘जनै हराएको मान्छे’: सामाजिक तथा पारिवारिक कथामा बनेको यो फिल्मले मानवीय सम्बन्धको उतारचढावलाई प्रस्तुत गरेको छ। विजय बराल, मिरुना मगर र केकी अधिकारीको मुख्य अभिनय रहेको यो फिल्मका ‘आमा’ र ‘मसुरीको दाना’ बोलका गीतहरू निकै लोकप्रिय भएका छन्।
‘ताराहरू’: मध्यमवर्गीय परिवारले सहरमा गर्ने संघर्षको कथामा आधारित यो फिल्ममा निर्देशक आशान्त शर्मा स्वयं मुख्य भूमिकामा छन्। ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ बोलका गीतहरूले दर्शकको ध्यान खिचेका छन्।
भदौको दोस्रो साता
यस हप्ता दुई फरक फिल्महरू ‘कोशेढुङ्गा’ र ‘गुन्यो चोलो: द ड्रेस’ प्रदर्शन हुँदै छन्।
‘कोशेढुङ्गा’: गत वर्षको हिट फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ का निर्देशक सरोज पौडेलको यो फिल्म भदौ १२ गते प्रदर्शनमा आउँदै छ। यसको तीज लक्षित गीत ‘नत्र भने जिन्दगी व्यर्थ छ’ निकै चर्चित बनेको छ। आर्यन सिग्देल, सुरक्षा पन्त, ऋचा शर्मा लगायतका कलाकारहरूको यसमा अभिनय रहेको छ।
‘गुन्यो चोलो: द ड्रेस’: भदौ १३ गते प्रदर्शन हुने यो फिल्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित छ। यसमा नाजिर हुसेनले पारलैंगिक महिला (ट्रान्सवुमन) को संवेदनशील भूमिका निभाएका छन्। फिल्मको विषयवस्तुले दर्शकलाई आकर्षित गरेको छ।
भदौको तेस्रो साता
यस हप्ता दुई फिल्म ‘रिमै’ र ‘चिठी’ एकैसाथ प्रदर्शनमा आउँदै छन्।
‘रिमै’: गुरुङ समुदायको संस्कृतिमा आधारित यो फिल्ममा दयाहाङ राई, रिश्मा गुरुङ र बुद्धि तामाङको मुख्य अभिनय रहेको छ।
‘चिठी’: यो कमेडी सस्पेन्स थ्रिलर फिल्म हो, जसलाई माधवराज खरेलले लेखन र निर्देशन गरेका छन्। यसमा खड्गबहादुर पुनमगर ‘खबपु’ र सञ्जित भण्डारी लगायतका कलाकारहरूले अभिनय गरेका छन्।
भदौको अन्तिम साता
भदौको अन्तिम शुक्रबार ‘अभिमन्यु: च्याप्टर १’ प्रदर्शन हुँदैछ।
‘अभिमन्यु: च्याप्टर १’: यो क्राइम जनराको फिल्म हो, जसको कथा पैसाको प्रलोभनले चक्रव्यूहमा फसेको व्यक्तिको संघर्षमा आधारित छ। यसका निर्माता विनोद पौडेल, सर्वाधिक हिट फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ का पनि निर्माता हुन्। फिल्मको प्रचारका लागि एआई प्रविधि पनि प्रयोग गरिएको छ।
चाडपर्वको अवसरले निर्माताहरूबीच प्रत्यक्ष प्रतिस्पर्धा बढाएको छ। कमेडी, पारिवारिक, सामाजिक, ड्रामा, अपराध, र लैंगिक अल्पसंख्यक कथासहितका यी फिल्महरूले फरक–फरक शैली र अभिनयसहित दर्शकको ध्यान तान्ने अपेक्षा गर्न सकिन्छ। अहिले चर्चामा रहेका ‘माग्ने राजा’, ‘जनै हराएको मान्छे’, ‘ताराहरू’, ‘कोशेढुङ्गा’, ‘गुन्यो चोलोः द ड्रेस’, ‘रिमै’, ‘चिठी’ र ‘अभिमन्यु’ मध्ये कुन फिल्मले दर्शकको मन जित्न सफल हुन्छ, त्यो हेर्न बाँकी नै छ।