काठमाडौँ । केही दिन अगाडि लन्डनमा वर्ल्ड प्रिमिएर भएको फिल्म ‘गोर्खा वारिअर’ नेपालमा भने आगामी फागुन ११ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदै छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा निर्माताले वार–ड्रामा फिल्मको ट्रेलर सार्वजनिक गरे ।
साढे दुई मिनेट लामो ट्रेलरमा वीरतापूर्वक गोर्खा सैनिकले लडेको लडाइँ र त्यसको सामाजिक आयामलाई प्रस्तुत गरिएको छ । मिलन चाम्स निर्देशित फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, विरुप घलेको मुख्य भुमिका छ । फिल्म नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरेर ४ भाषामा रिलिज हुनेछ । फिल्मको हिन्दी संस्करणमा ‘केजीएफ’का सचिन गोलेले स्वरांकन गरिरहेका छन् ।
चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ । चलचित्रमा मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन छ ।
दोस्रो विश्वयुद्धको क्रममा सन् १९४९ मा भएको मलाया युद्धमा गोर्खा सैनिकले लडेको वीरतापूर्ण लडाइँको कथा र यसको सामाजिक आयामलाई फिल्ममा चित्रण गरिएको छ । निर्मातामा सुमन राई र सुस्मिता वाइबा छन् । लण्डन सिनेआई प्रोडक्सनको प्रस्तुतिमा चाम्स इन्टरटेनमेन्टले फिल्म निर्माण गरेको हो ।