Skip to main content

काठमाडौं– निर्देशक यम शेर्पाको दोस्रो फिल्म ‘मिरमिरे’को छायांकन ३५ दिनमा पूरा भएको छ। एक गीतबाहेक फिल्मका सबै दृश्यहरू कैद भइसकेका छन्। काभ्रेको बल्थली र मकवानपुरको चित्लाङमा छायांकन भएको फिल्मको बाँकी गीतलाई चाँडै नै खिचिने निर्देशक शेर्पाले जानकारी दिएका छन्।

यो फिल्ममा ‘कार्साङ’का चर्चित जोडी दयाहाङ राई र सिर्जना निङलेखुसँगै गायक तथा अभिनेता प्रकाश सपूत पनि मुख्य भूमिकामा छन्। चर्चाअनुसार, दयाहाङले यो फिल्मका लागि सरकारी ट्याक्स कटाएर ६० लाख रुपैयाँ पारिश्रमिक लिएका छन्। यदि यो सत्य हो भने उनी नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता बन्न पुगेका छन्।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस फिल्ममा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा लगायतका कलाकारहरूको पनि अभिनय रहेको छ। बालबालिकामा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, र नमनराज गजुरेल छन्। फिल्मको कथा स्वयं निर्देशक शेर्पाले लेखेका हुन् भने यसको छायांकन आलोक शुक्लाले गरेका छन्।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा, र आङ्छिरिङ शेर्पा निर्माता रहेको फिल्ममा गोविन्द बोहरा र सुदिप कुँवर सह-निर्माता छन्। कार्यकारी निर्माताको रुपमा भने रोहित कट्टेल रहेका छन्।