काठमाडौं। सन्तोष सेनको निर्माण तथा निर्देशन रहने फिल्म “बलिदान “ मा अभिनेत्री ऋचा शर्मा अनुबन्धित भएकी छन्। उनलाई फिल्मको प्रमुख पात्रमा साइन गरिएको निर्माणपक्षले बताएको छ । तर, फिल्ममा उनको भूमिका के हो भन्ने खुलेको छैन ।
आगामी वर्ष २०८१ मा रिलिज हुने बलिदान बाट अभिनेताको रूपमा समीर भट्टले डेब्यू गर्दैछन्। समीर नेपाली फिल्ममा एक्सन हिरोको रूपमा परिचित विराज भट्टका छोरा हुन्। उनले लामो समयदेखि भारतको मुम्बईमा रहेर अभिनय, मार्सल आर्ट, नृत्य र द्वन्द्वमा तालिमहरू गरिरहेका थिए। साथै, फिल्ममा सौगात मल्ल र अर्पण थापा पनि फाइनल भइसकेका छन् ।
देशको अस्मिता जोगाउन एक युग पुरूष कसरी जन्मिछ भन्ने कथाको वरपर यो फिल्म रहने निर्देशक सेनले बताएका छन्। आसुसेन फिल्मस प्राली तथा सन्तोष सेनको प्रस्तुति रहने यस फिल्ममा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा सह(निर्माता प्रेम पुरी रहेका छन्।
नायिका शर्माले फिल्म ‘डिग्री माइला र मेयर’मा काम गरेपछि ‘बलिदान’मा काम गर्ने तयारी गरेकी हुन् ।