काठमाडौं । रामबाबु गुरुङ निर्देशित फिल्म ‘डिग्री माइला’को टिजर सार्वजनिक भएको छ। निर्माण कम्पनी बाँसुरी फिल्म्सले सोमबार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरेको हो ।
सार्वजनिक टिजरमा डिग्री माइलाको किस्सालाई देखाइएको छ। साथै उक्त टिजरमा अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्माको रोमान्टिक दृश्य पनि समेटिएको छ। फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो।
फिल्ममा दयासँगै आँचल शर्मा, विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरे, कमलमणी नेपाल, शेखर चापागाईं, सोमनाथ खनाल, पशुपति राईलगायत कलाकारको अभिनय छ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सले फिल्म निर्माणका लागि सुस्मा फिल्म्ससँग सहकार्य गरेको छ। शिवराम श्रेष्ठ र राइली एच शेनले छायांकन गरेको फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।
‘डिग्री माइला’ आगामी बैशाख १ गते नयाँ वर्षको अवसरमा रिलिज हुनेछ।