Skip to main content

काठमाडौं नेपालकै पहिलो एनिमेटेड फिल्म सलिना चैत्र १६ मा रिलिज भएको छ। सरस्वती पूजाको अवसर पारेर बुधबार फिल्म रिलिज डेट सार्वजनिक गरिएको हो।

रिलिज डेटको घोषणासँगै फिल्ममा प्रयुक्त सरस्वती मातासँग आशिर्वाद लिँदै गरिएको दृष्यसमेत सार्वजनिक गरिएको छ। फिल्म श्री ब्यांकटेश इन्टरटेन्डमेन्ट प्रालिले वितरण गर्दैछ भने ट्रेलर ओएसआर डिजिटलबाट रिलिज हुनेछ।

सलिना रेनमेकर एनिमेसन एकेडेमीद्वारा निर्मित काल्पनिक कथामा बेनेको फिल्म सम्पूर्ण रूपमा नेपाली प्राविधिक र नेपाली भाषामा निर्माण गरिएको नेपालकै पहिलो एनिमेटेड फिचर फिल्म हो । यसमा पाश्र्व आवाजबाहेक अन्य भौतिक पात्रको प्रयोग नभएको निर्माण संस्थाले जानकारी गराएको छ।

यसका मुख्य दर्शक प्रायः मल्टिप्लेक्सका हुने भएकाले यसलाई पहिलो चरणमा यस्ता थियटरमा रिलिज गर्न लागिएको र क्रमशः अन्य सिंगल थिएटरमा पनि शो बढाउदै लाने निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मको दोस्रो पोस्टर पनि सार्वजनिक भएको छ भने यही हप्ता दोस्रो टिजर पनि ओएसआर डिजिटलबाट रिलिज हुनेछ। तेजसराज जोशीले निर्देशन गरेको फिल्म तेजसराज साथमा श्रुति श्रेष्ठले निर्माण गरेका छन् भने शिव पुरी र श्रुति श्रेष्ठले सम्पादन गरेका छन्।

त्यसैगरी यसका ग्राफिक कलाकार सगिन महर्जन, अविनाश सिंह थारू र शिरभा मानन्धर हुन्। फिल्ममा बेनिशा खतिवडा, अदिति ज्ञवाली, एज्मे कुइंकेल, झरना राई, तेजसराज जोशी, सुशील नेपाल, देव न्यौपाने, शिव पुरी, युबिन पुजारी, जुना थापा, कुमार न्यौपाने, प्रकाश अधिकारी, रोशन भट्ट, सगिन महर्जन, अविनाश सिंह थारू, शिरभा मानन्धर, विराज खड्का, लजना श्रेष्ठ, श्रुति श्रेष्ठ, सुदिष्णा श्रेष्ठ, सुनिना शाक्य र कृष्मा राजकर्णिकारलगायत कलाकारले आवाज दिएका छन्।

फिल्मको सूचना प्रविधि र नेटवर्किङको प्राविधिक कार्य अचिन सुन्दर प्रधानले गरेका छन्। फिल्मले राजकुमारी सलिनाको कथा बताउँछ। उनले अरूसँग मिलेर सबैभन्दा ठूलो राक्षस्नीलाई हराउनका लागि विभिन्न तालिमलगायत यात्रा सुरु गर्छिन्।

रेनमेकर एनिमेसन एकेडेमी काठमाडौं बालाजुमा अवस्थित नेपालको एक प्रतिष्ठित एनिमेसन र भिजुअल इफेक्टस् एकेडेमी हो।

जसले १० वर्षदेखि थ्रिडी एनिमेसन र भिजुअल इफेक्टससंबन्धि तालिम प्रदान गर्दै आएको छ। एकेडेमीबाट स्नातक गरेका विद्यार्थी हाल राष्ट्रिय र अन्तर्राष्ट्रिय भिएफएक्स स्टुडियोमा काम गरिरहेका छन्।