काठमाडौं । विपीन कार्की अभिनित फिल्म ‘तेल भिसा’को लागि कलाकारको खोजी गरिएको छ। सोमबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गर्दै अडिसन आह्वान गरेका हुन्।
अडिसनमा विभिन्न उमेर समूहका अमेरिकन, अफ्रिकन पाकिस्तानी, मेक्सिकन, कोरियन, साउथ एसियनसहित फरकफरक वर्ण देखिने नेपाली र विदेशी मूलका महिला पुरुष दुवैले अडिसनमा सहभागि हुन सक्नेछन्। अडिसनमा सहभागिता हुन अमेरिकामै बसोबास गरिरहेका व्यक्ति हुनु पर्नेछ जसले कलाकारितासँगै अमेरिकाको रहन सहन, भाषा र भेषभूषाको समेत राम्रो ज्ञान हासिल गरेको हुनु पर्नेछ। अडिसनमा सहभागि हुन इच्छुक व्यक्तिले फिल्म निर्माण कम्पनी वेल डन कृएशनको इमेलमा फोटोसहित बायोडाटा पठाउनु पर्नेछ।
शंकर घिमिरेको निर्देशनमा बन्ने फिल्ममा विपीन कार्कीसँगै गौरी मल्ल, ऋचा घिमिरे, वर्षा राउत, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहनेछ।
फिल्ममा मुख्य कलाकारको लाइन अप सकिएपनि अमेरिकाको लागि विभिन्न भूमिकामा अडिसन आह्वान गरिएको हो। सेभेन सिज इन्टरटेनमेन्टसँग शंकर घिमिरेको वेल डन कृएशनले साझेदारी गर्दै निर्माण गर्न लागेको तेल भिसाको ७० प्रतिशत छायांकन अमेरिकाको मेरिल्याण्ड, भर्जिनिया, न्यूयोर्क, वासिङटन डिसीमा हुनेछ भने बाँकी ३० प्रतिशत नेपालमा हुनेछ। यो फिल्म चैतको दोस्रो सातादेखि छायांकनमा जाने बताइएको छ।