काठमाडौं । नेपाली सिने जगतमा दुई चलचित्र एकसाथ भिड्नु कुनै नौलो कुरा होइन । प्राय दशैं तथा अन्य चाडबाडको अवसर पारेर चलचित्रकर्मीहरुले चलचित्रको रिलिज डेट तय गर्दै आएका छन् ।
त्यसो त चलचित्र बजार र हलले एकै मितिमा दुईवटासम्म चलचित्र धान्न सक्ने अवस्था भए पनि कहिले काहीँ यो संख्या नाघ्ने गर्छ । जसले गर्दा दर्शक बाँडिन्छन् । हल बाँडिन्छ र निर्माताले घाटा बेहोर्नुपर्छ ।
आगामी फागुनमा भने फिल्म रिलिजको ठूलो चाप छ । फागुनमा लगातार ६ वटा चलचित्र रिलिजको तयारीमा रहेका छन् । एकै दिनमा ३ वटा चलचित्रसम्म प्रदर्शन हुँदैछन् । फागुन महिनाको पहिलो रिलिजको रुपमा चलचित्र ‘जिग्री’ फागुन ४ गते रिलिज हुँदैछ । आकाश मगरले निर्देशन गरेको यस चलचित्रमा कमेडी, क्राइम र एक्सन ड्रामामा आधारित छ । ‘जिग्री’ वर्तमान समयको आम नेपाली दुई युवाहरूको कथा हो । चलचित्रमा अभय राज बराल, आकाश मगर, सुप्रिया राना, रोशन सुवेदी, जीवन बराल, वासुदेव खनाल, नवीन लम्साल, केदार श्रेष्ठ, दिवाकर घिमिरे, सुशीला लक्ष्मी महर्जन, मनिष व्याञ्जु, स्नेहा रसाइली, अर्जुन पौडेल, शंकर भण्डारी लगायतको अभिनय रहेको छ।
त्यस्तै चलचित्र गोर्खा वारियर’ फागुन ११ गतेदेखि रिलिज हुँदैछ । मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘गोर्खा वारियर’ सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा गोर्खा सैनिकले देखाएको बहादुरीको कथामा आधारित भएर निर्माण गरिएको हो । फिल्ममा विजय लामा, रितेश चाम्स, शिशिर वाङ्देल, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, विरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायतको अभिनय छ ।
चलचित्र ‘द अनब्रेकेबल अगस्त्य’ फागुन १८ गते रिलिजको तयारीमा रहेको छ । सौरभ चौधरी निर्देशित यस चलचित्रमा सौगात र मलिकासँगै नाजिर हुसेन, निश्चल बस्नेत, प्रमोद अग्रहरी, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी लगायतको अभिनय छ । यी तीनवटै चलचित्रले सोलो रिलिजको मौका पाएका छन् । जसले गर्दा हल र दर्शक बाँडिने छैनन् ।
त्यस्तै, फागुन २५ गते तीन नेपाली चलचित्र एकसाथ भिड्दै छन् । याे मितिमा ‘उपहार’, ‘रंगेली’ र ‘काँडेतार’ गरी ३ वटा चलचित्र रिलिजको तयारीमा रहेका छन् । महाशिवरात्री तथाअन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर यी चलचित्र एकसाथ रिलिज हुन लागेका हुन् ।