काठमाडौं । महँगो बजेटमा तयार भइरहेको फिल्म ‘फर्की फर्की’को काठमाडौं र पोखराको छायांकन सकिएको छ । निर्माता रोहित अधिकारीका अनुसार अब गीत खिच्नका लागि इन्डोनेसियाको बाली र खप्तड जाने तयारी गरिएको छ ।
सुरुवातमा फिल्मको छायांकन अन्नपूर्ण बेस क्याम्पमा गर्ने तयारी भएपनि नायक अनमोल केसीको इच्छा अनुसार खप्तड जाने तयारी गरिएको हो ।
फिल्म ‘फर्की फर्की’मा नायक अनमोल केसी र नायिका जसिता गुरुङको रोमान्सका थुप्रै दृश्यहरु समावेश भएको स्रोतले जानकारी दिएको छ । फिल्ममा नव–कलाकारद्धय रवि काफ्ले र सम्बृद्धि अर्यालले पनि उत्कृष्ट काम गरेको निर्माता अधिकारीले बताईन् ।
सुयोग गुरुङको कथा तथा निर्देशनमा तयार भएको यो फिल्मलाई जेठको १० गते बुद्ध जयन्तीका दिनदेखि रिलिज गर्ने तयारी निर्माणपक्षले गरेको छ ।
यो फिल्मका लागि रोहित र उनको टिमले महँगो रकम खर्च गरिसकेको छ । फिल्मलाई उत्कृष्ट र फरक बनाउन कुनै पनि कसर बाँकी नराखिएको निर्माणपक्षले जनाएको छ ।