Skip to main content

काठमाडौँ । आगामी ११ फागुनबाट देशव्यापी सिनेमा हलमा रिलिज हुने चलचित्र गोर्खा वारियरको गीत ‘जय जय गोर्खाली’को मोशन भिडियो बिहीबार सार्वजनिक गरिएको छ । चलचित्रको प्रदर्शन मिति नजिकिँदै गर्दा यो गीतको भिडियोलाई ओएसआर डिजिटल युट्युव च्यानलबाट रिलिज गरिएको हो ।

गोर्खा सैनिकको बहादुरीको बखान गरिएको गीतमा राजेशपायल राईको स्वर तथा पूर्व आईजीपी शैलेन्द्र खनाल शदरको शब्द रचना र एलिस कार्कीको संगीत छ ।गीतमा फिल्मका शीर्ष पात्र र उनीहरुको मनोदशालाई चित्रण गरिएको छ । फिल्ममा रितेश चाम्स, विजय लामा, रेबिका गुरुङ, कविता आले, शिशिर बाङ्देल लगायतको अभिनय छ । यो फिल्मलाई नेपालमा थिएट्रिकल रिलिजअघि पोखरा, काठमाडौं र धरानमा रेडकार्पेट प्रिमियर गर्ने तयारी छ ।

गोर्खा सैनिकले सन् १९४९ मा ‘मलाया इमरजेन्सी जंगल वार’मा देखाएको बहादुरीको कथामा आधारित भएर सिनेमा बनेको हो । गत भदौमा बेलायतस्थित प्रतिष्ठित ‘आइम्याक्स सिनेवल्र्ड’मा प्रिमियर गरिएको सिनेमाको आगामी फागुन ५ गते लाहुरेको सहर भनेर चिनिने धरानमा पनि प्रिमियर गरिँदैछ ।

निर्देशक चाम्ससहितको फिल्म युनिटले धरान, बुटवल र पोखरामा पत्रकार सम्मेलन गरेको छ । लाहुरे बहुल धरान र पोखरामा प्रिमियर गर्दा फिल्मको लक्षित दर्शकमा पुग्न सकिने आशा निर्देशक चाम्सले लिएका छन् । यो फिल्म वार(सोसल ड्रामा जनरामा आधारित छ ।