काठमाडौं । आज शुक्रबार नेपाली सिनेमा हलमा दयाहङ राई अभिनित दुई फिल्म ‘दयारानी’ र ‘हात्तीछाप’ एकसाथ प्रदर्शनमा आएको छ।अहिलेका व्यस्त अभिनेता राईले यो साता बक्सअफिसमा आफ्नै दुईवटा फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्नेछ।
सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्म ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, विल्सन विक्रम राई, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बुद्धि तामाङ, विजय बराल, कमलमणी नेपाल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, विनोद न्यौपाने, कविता आले, भोलाराज सापकोटा, सुष्मा निरौला, रेयर राई, विशाल पहारी, अनुप न्यौपाने, स्वस्तिका खड्का, नारायण खाती, अनिता गिरी, बेन भुजेल, रिजोन परियार, अनिषा अधिकारीलगायत कलाकारको अभिनय छ।रेड बर्ड प्रोडक्शनको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन्। फिल्मका प्रोडक्सन हेड सुरज आचार्य हुन्।
त्यस्तै माओत्से गुरुङ निर्देशित फिल्म ‘दयारानी’लाई सिनेमा आर्टस् र माओत्से फिल्म्सले निर्माण गरेको हो। फिल्ममा दयाहाङ राई, दीया पुन, विजय बराल, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घलेलगायत कलाकारको अभिनय छ। गुरुङ समुदायमा दयालु यूवतीलाई ‘दयारानी’ भनिने भएकाले फिल्मको नाम ‘दयारानी’ राखिएको हो। फिल्मले एउटा खराब श्रीमान र उसकी श्रीमतिको कथा भन्छ। मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको फिल्मका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन्।
त्यसैगरि, बलिउड फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’ पनि हलमा लागेको छ। यस फिल्ममा शाहिद कपुर र कृति सेनन मुख्य भूमिकामा छन्। रोमान्स कमेडी जनरामा बनेको यस फिल्ममा शाहिद र कृति पहिलोपटक एकसाथ देखिँदैछन्।