काठमाडौँ । अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’ वैशाखमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलबाट फिल्मको रिलिज मिति नयाँ वर्षको वैशाख १४ गतेका लागि तय भएको निर्माता समेत रहेकी अभिनेत्री केकीले जानकारी दिइन् ।
करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।
फिल्ममा केकीका अलवा सुपला सापकोटा, स्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोला लगायतको अभिनय छ । महिलालाई बोक्सीको आरोप लगाई समाजले उनीहरूमाथि गर्ने शोषणको वरिपरि रहेर फिल्म बनेको छ ।
सामाजिक–थ्रिलर जनरामा निर्माण भएको फिल्मले समाजमा प्रचलित कुप्रथालाई चित्रण गर्ने केकीले बताइन् । नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनमा आउने फिल्म केही अन्तर्राष्ट्रिय फेस्टिभलमा समेत लैजाने योजना केकीको छ ।
कार्यकारी निर्माता राजकुमार घिमिरे रहेको फिल्ममा शिवराम श्रेष्ठको छायाङ्कन, लोकेश बज्राचायको सम्पादन छ । फिल्मको वितरण टिफल्क फिल्मस्ले गर्नेछ ।