काठमाडौं । सवीर श्रेष्ठले निर्देशन गर्ने फिल्म ‘रुखान’को घोषणा भएको छ । यो फिल्मलाई चार भाषामा निर्माण गरिने निर्माताले जनाएका छन् । नेपाली, अंग्रेजी, हिन्दी र भोजपुरी भाषामा फिल्म बन्नेछ ।
कृष्ण थापा र सुरेश गुरुङको लगानी रहने यो फिल्ममा चिकित्सक समेत रहेका डा. रुपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता अभिनेता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।
सार्वजनिक फिल्मको फस्टलुकमा एक जना महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देऊ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्बिर समेत समावेश गरिएको छ । फस्ट लुकले यो फिल्मले आम नागरिकको समस्याको कथा भन्ने संकेत गरेको छ ।
यो फिल्म सविन फिल्म्स, भिक्टोरी प्रोडक्सन हाउस प्रालि र काइट्स इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।
फिल्मको विषयमा निर्देशक सविर श्रेष्ठले भने, ‘यो एक महिलाको संघर्षको कथा हो । यो कथाबाट हामीले सिंगो देशका नागरिकहरूको समस्यालाई भन्ने प्रयास गर्नेछौँ ।’ फिल्मको मुख्य पात्रमा महिला कलाकार हुने सविरको भनाई छ । उनका अनुसार, कलाकारहरू फाइनल गर्ने क्रम जारी छ । चाडै नै, फिल्मको मुख्य कलाकारको नाम घोषणा गरिने सविरले बताए ।