Skip to main content

काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन् ।

आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए ।

“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एकदशक अगाडिदेखि कै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”

चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताए । “गोर्खालीको विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ”, उनले भने ।

नेपाली वीर गोर्खालीहरुले मलायाको जंगलमा कसरी आफ्नो वीरता देखाएका छन् भन्ने कथा यो फिल्ममा देखाइएको छ । फिल्मलाई प्राविधिक रुपमा पनि बलियो बनाइएकाले नेपाली फिल्मका लागि नयाँ कोशेढुंगा हुने मिलनको दाबी छ ।

फिल्मको ट्रेलरले राम्रो चर्चा पाइरहँदा अहिले देशभरका हलबाट फिल्मको माग आउन थालेको छ । यसले मिलनलाई उत्साहित बनाएको छ । फिल्ममा रितेश चाम्स नयाँ कलाकारको रुपमा छन् । तर, फिल्ममा उनको विकल्पको रुपमा अरूले काम गर्नै नसक्ने मिलनको दाबी छ ।विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।