काठमाडौं । नायिका प्रियंका कार्कीले आफूले आउँदो बर्ष दुई वटा फिल्ममा काम गर्न लागेको बताएकी छिन् । धुम्बाराहीमा संचालनमा आएको मनोरञ्जन पार्क ‘उप्स’को उद्घाटन गर्न आफ्नी छोरीसँग पुगेकी प्रियंकाले अर्को बर्ष दुई वटा फिल्म खेल्ने र एउटाको पटकथा आफैले लेखिरहेको उल्लेख गरेकी हुन् ।
प्रियंकाले मिडियाकर्मीसँग कुराकानी गर्दै भनिन्–‘आउँदो बर्ष म २ वटा फिल्ममा काम गर्दैछु । यसमध्ये एउटा फिल्म आफ्नै होम प्रोडक्शनबाट बन्नेछ । फिल्मलाई एक्सन र थ्रीलर कथामा तयार गर्ने हाम्रो कोशिश रहनेछ । यसका लागि तयारी धमाधम चलिरहेको छ ।’
प्रियंकाले प्रष्ट रुपमा नखुलाए पनि होम प्रोडक्सनबाट बन्ने फिल्ममा आफ्नो एक्सन भूमिकामा रहने उनको संकेत छ । उनी आफैंले फिल्मको पटकथा लेखिरहेको जनाइएको छ । प्रियंकाले आफ्नो कम्पनी ट्वींकलबेल पिक्चर्सबाट यसअघि ‘वसन्त’ नामक एउटा सर्ट फिल्म र ‘जस्ट अनादर लभ स्टोरी’ वेब सिरिजको निर्माण गरिसकेकी छन् । अब उनी फिचर फिल्म निर्माणको अनुभव लिँदैछिन् ।