Skip to main content
काठमाडौं । आर्टमान्डुको फिल्म 'ऊनको स्वीटर' को फर्स्टलुक पोस्टर सार्वजनिक भएको छ। मंगलबार निर्माण टिमले फिल्मको पोस्टर सार्वजनिक गरेका हुन्।

सार्वजनिक पोस्टरमा अभिनेता विपीन कार्की र मिरूना मगरलाई प्रस्तुत गरिएको छ। ८०/९० को दशकतिर फोटो खिच्ने ट्रेन्डलाई पोस्टरले प्रतिबिम्बित गर्छ । पोस्टरमा विपिन उभिएका छन् भने मिरुना कुर्सीमा बसेकी छन् । ऊनको स्वीटर लगाएका विपिन हँसमुख भावमा भलाद्मी देखिएका छन् । सर्लक्क कोरिएको कपाल र हल्का जुँगामा उनको लुक्स आकर्षक देखिन्छ । मिरुना भने मगर पहिरनमा छिन् । उनको अगाडिको कपालले निधार छोपेको छ । पोस्टरले विपिन र मिरुना श्रीमान्-श्रीमतीको भूमिकामा हुने संकेत मात्र गर्दैन, अन्तरजातीय प्रेमकथामा आधारित भएर फिल्म बन्न लागेको पनि प्रस्ट्याउँछ ।

नविन चौहानले निर्देशन गर्ने फिल्ममा विपीन र मिरूनासँगै एलेक्स पारस, परीक्षा लिम्बु, अनिल सुब्बालगायत कलाकारको अभिनय रहनेछ। ‘लालपूर्जा’ पछि मिरूना र विपीनको यो दोस्रो सहकार्य हो। फिल्मको कथा पनि निर्देशक चौहानले लेखेका हुन्।

चिन्तनराज भण्डारीले छायांकन गर्ने फिल्मलाई कृष्ण भण्डारीले सम्पादन गर्नेछन्। फिल्ममा सुजन र गायिका झुमा लिम्बु संगीत निर्देशक छन्। फिल्मका लागि शीर्ष गीत हर्क साउदले लेखेका हुन्।

चौहानले आर्टमाण्डुमार्फत ‘तीनपाते, घुमीघुमी, फूलथुंगे रानी, चन्द्रमा, पाहुना हजुर, सुनाखरी, के माया लाग्छ र, बटौली’ जस्ता म्युजिकल फिल्म निर्माण गरिसकेका छन्।