काठमाडौं । छायांकन भइरहेको फिल्म ‘सिटामोल’ले शीर्ष पात्रको लुक्स सार्वजनिक गरेको छ । फिल्ममा सौगात मल्ल र बेनिशा हमालले मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । सौगात र बेनिशाले पहिलो पटक चलचित्र ‘झ्यानाकुटी’मा एकसाथ काम गरेका थिए । यो उनीहरुको दोस्रो सहर्कांय हो ।
सार्वजनिक तस्विर हेर्दा बेनिशा काखमा सन्तान लिएर बसेकी छिन् भने सौगातको हातमा कुखुराको भाले छ । तस्विरले यो चलचित्र ग्रामीण भेगको कथामा तयार भएको बुझ्न सकिन्छ । राज बहादुर सानेको निर्देशनमा बनिरहेको यो फिल्मको ५० प्रतिशत छायांकन सकिएको निर्माणपक्षले बताएको छ ।
सअघि ‘वृन्दावन’ र ‘वीराङ्गना’ फिल्म निर्देशन गरेका सानेको यो फिल्ममा बुद्धि तामाङ, ज्ञानु सुनार र ध्रुव दत्त पनि छन् । ‘छक्कापञ्जा ४’ ब्लकबस्टर भएपछि बेनिशाको यो तेस्रो प्रोजेक्ट हुनेछ ।
निर्देशक सानेले नेपाली समाजको वास्तविक घटनालाई फिल्मले चित्रण गर्ने बताए । ‘हरेक मानिस विभिन्न पीडामा हुन्छन्, त्यसलाई निको पार्ने सिटामोलको रूपमा फिल्म बन्नेछ,’ उनले भने । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी रहनेछ ।