Skip to main content

काठमाडौं । ‘बुलबुल’ फेम्ड निर्देशक विनोद पौडेलको नयाँ फिल्म ‘भूठान’को छायांकन अमेरिकाको ओहायोमा सकिएको छ । छायांकन सकेर नेपाली अभिनेता हरिवंश आचार्य र दयाहाङ राई स्वदेश फर्किएका छन् ।

चलचित्रमा नेपालबाट हरिवंश आचार्य, दयाहाङ राई, पुजा चन्द लामा, ऋचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्य साथै भारतबाट अनुराधा मजुमदार तथा अमेरिकाबाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डन लगायत विभिन्न कलाकार जोडिएका छन्।

प्रसिद्ध हलिउड अभिनेता ब्रुस डर्नले समेत अभिनय गरेको यो फिल्मको अंग्रेजी नाम ‘द वर्ल्ड ह्यापिएस्ट म्यान’ राखिएको छ । तेस्रो देश पुनर्वासमा पुगेका भुटानी शरणार्थीको कथावस्तु समेटिएको यो फिल्मबाट पूजा चन्द र ऋचा घिमिरेले पुनरागमन गरेका छन् ।

सांघुरो निर्देशक जोयश पाण्डे र रंगकर्मी विमल सुवेदी पनि यस चलचित्रमा अभिनेताका रुपमा पनि देखिने छन्।

यो चलचित्र हलिउडकै अन्तर्राष्ट्रिय मान्यता र मापदण्डमा रहेर बनाइएको हो। ‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ। यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिक पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल छ। कथा पनि विश्वले आत्मसात गर्ने भएकोले यो चलचित्रमार्फत् हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं,’ निर्दैशक पौडेल भन्छन्।

म्याड मंकी फिल्म्सले निर्माण गरेको यो फिल्ममा हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोज र नेपालबाट अवेकन प्रोडक्सन कम्पनी सहकार्य गरेका छन् । यसका कार्यकारी निर्मातामा कौशिला खनाल कर्मचार्य, एलएन अधिकारी, अपार श्रेष्ठ र रमेश भट्ट छन् । निर्मातामा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा छन् ।

यो चलचित्र २०२४ को अन्त्यसम्म दर्शक विश्वव्यापी प्रदर्शन गर्ने योजना निर्माण टिमको छ।