काठमाडौं । शंकर कोइरालाको निर्देशन रहने फिल्म ‘मोदीबेनी’ को शुभ मुहूर्त गरिएको छ। मुहूर्तपश्चात् मंगलबार नै चलचित्र युनिट छायांकनमा निस्किएको छ।
यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन्। सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमरप्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन्।
चलचित्रको टिमको काम गर्ने तरिका र यसको स्क्रिप्ट मन परेर आफूले ‘मोदीबेनी’मा अभिनय गर्न लागेको सिवाकोटीले बताइन्।मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ। कथावस्तु पनि चलनचल्तीका फिल्महरूको भन्दा फरक छ। यो फिल्म एक नयाँ प्रयोग पनि हुनसक्छ,’ उनले भनिन्। अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए।
यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन्। उनले पछिल्लो चलचित्र ‘वरदान’मा ‘लिड रोल’मा अभिनय गरेकी थिइन्। उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन्।
फिल्ममा वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, सरोज खनाल, रेजिना उप्रेती, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिसलगायत कलाकारको अभिनय रहनेछ। प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो।
शंकर कोइरालाको निर्देशन रहने फिल्म पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही बन्न लागेको हो । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो फिल्मका निर्माता दिलीप के.सी, सह–निर्माता हरि श्रेष्ठ रहेका छन् । करिब पैँतिस–चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।