Skip to main content

काठमाडौं । अभिनेत्री सुरक्षा पन्तले खेलेको पहिलो नाटक भारतको प्रतिष्ठित रंग महोत्सवमा छानिएको छ । नेपाली नाटक ‘क्लेशाः’ भारतीय नेसनल स्कुल अफ ड्रामाको ‘भारत रंग महोत्सव’ मा छनोट भएको हो।

भारत रंग महोत्सवको २३ औँ संस्करणमा प्रदर्शनका लागि छानिएका ६० हाराहारी नाटकमध्ये नेपालबाट विजया कार्कीको निर्देशनमा तयार भएको नाटक ‘क्लेश’ छानिएको हो । भारत रंग महोत्सव, भारतको नेसनल स्कुल अफ ड्रामाको वार्षिक नाट्य महोत्सवको कार्यक्रम हो । कोभिड अघि संसारभरका नाटक महोत्सवमा मञ्चन हुने गरेका थिए । नेपालमा सन् २०१९ मा मञ्चनमा आएको यो नाटकले २०२२ कै महोत्सवमा सहभागी हुन आवेदन दिएको थियो । छनौट पनि भएको थियो । तर कोरानाका कारण महोत्सव नै सर्यो ।

यसका लागि ‘क्लेशा’ को टीम आगामी फागुन २ मा दिल्ली जाने भएको छ । त्यसअघि नेपाली दर्शकबीच पुनः यो नाटक मञ्चन गराउने तयारी गरिएको छ । निर्माण टीमले नाटकको रिहर्सल पनि सुरु गरिसकेको निर्देशक विजया कार्कीले जानकारी दिए ।

विशेष मञ्चन २०८० माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे मण्डला थियटर थापा गाउँमा हुने बताइएको छ ।

नाटकमा पन्तसँगै सरिता गिरी, रोश्नी कार्की, सबिना थापा, स्वप्निल घिमिरे, रुजा राउत, सुदीप खतिवडा, रिजोन परियार, उमेश तामाङ, अनुप न्यौपाने, केदार श्रेष्ठ, रुपक खरेल, कुशल पाण्डे, सन्दीप श्रेष्ठ, सुजन खतिवडा, विजय बराल,संयोग गुरागाईं, विकाश जोशी र मिलन कार्की छन् ।