काठमाडौँ । यादव भट्टराईको निर्देशन रहने फिल्म ‘झिल्को’ शुभ–मुर्हूत गरिएको छ । बिहीबार साँझ गुह्येश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको शुभ–मुर्हूत गरिएको हो । मुर्हूतमा कलाकार तथा रंगपत्रकारको बाक्लो उपस्थिति रहेको थियो ।
यो फिल्मलाई सामाजिक र पारिवारिक कथामा निर्माण गरिने निर्माणपक्षले बताएको छ । फिल्मको छायाङ्कन माघ २२ गतेदेखि सुरु हुनेछ । फिल्म काठमाडौँका विभिन्न स्थानमा छायाङ्कन हुनेछ ।
थुप्रै म्युजिक भिडियो निर्देशनपछि भट्टराईले ‘झोला’ मार्फत फिल्म निर्देशनमा डेब्यु गरेका थिए । यो फिल्म सन् २०१४ को ओस्कार अवार्डका लागि नेपालबाट सिफारिस भएको थियो ।
सामाजिक तथा पारिवारिक कथामा बन्न लागेको फिल्ममा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा सिवाकोटी बाल कलाकार आयुषी ढकाल आदिको मुख्य भूमिका रहनेछ । रंगमञ्चको दुनियाँमा गर्विलो नाम बनाएका सुनिलले १३ वर्षपछि ‘झिल्को’बाट फिल्ममा कमब्याक गर्न लागेका हुन् । पछिल्लोपटक उनी सन् २०११ मा आएको फिल्म ‘आचार्य’मा देखिएका थिए ।