काठमाडौं । अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुनको मुख्य भुमिका रहेको सिनेमा ‘दयारानी’को टिजर सार्वजनिक भएको छ । बिहीबार रिलिज गरिएको १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा उनीहरु श्रीमान्-श्रीमतीका रुपमा रहेका छन् ।
सार्वजनिक टिजरमा निःसन्तान भएकाले दयालाई दोश्रो विवाह गर्न दीयाले प्रेरित गरेको देखाइएको छ । सो क्रममा दयाले दीयाको सो प्रस्ताव अस्वीकार गरेको देखाइएको छ भने अर्को एक दृश्यमा सालीसँग ठट्टा गरेको देखाइएको छ । हास्यप्रदानसँगै केही गम्भिरता प्रदान गरेको सिनेमाको यो टिजरले दर्शकलाई आकर्षित गर्ने देखिन्छ ।
फिल्मको टिजरमा दया र दीयाबिचको सम्बन्ध, केही रमाइला संवादले दर्शकको मन छुन सक्छ । फिल्म ‘मिस्टर झोले’पछि दया र दीयाले एकसाथ काम गरेका हुन् । फिल्ममा सालीको भूमिकामा रहेकी प्रमिसा गुरुङको ‘ए हो र’ भन्ने संवादले दर्शकको मन जित्न सक्छ ।
बाँसुरी फिल्मस् र माओत्से फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । सिनेमामा दयाहाङ र दीयाका अलावा विजय बराल, प्रमिसा गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, शिरिषा कुँवर, नयन गुरुङ, सुर्य सुनार, राजेन्द्र थापा, सीतादेवी गुरुङ र क्रिष्टी गुरुङ लगायतका कलाकार पनि अभिनय छ ।
मोहन गुरुङ, किरण गुरुङ, केन्द्र लिम्बु र न्यू आइटी भेन्चरको सहकार्यमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता रामबाबु गुरुङ र अपिल विष्ट हुन् । सिनेमाको कास्टिङ डारेक्टर मणिराम पोखरेल हुन् । सिनेमालाई नेपालमा प्रचण्डमान श्रेष्ठको कम्पनि टिफल्क फिल्मस् र विदेशमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्नेछ ।
सिनेमा माघ २६ गते रिलिज हुँदैछ ।