लुट’बाट नेपाली फिल्मको परम्परागत कथावाचन शैलीको ट्रेन्ड नै बदलेका निश्चल बस्नेतले लगभग ६ वर्षपछि ‘दिमाग खराब’बाट निर्देशनमा पुनरागमन गरे। यस वर्षको तिहार छेको पारेर प्रदर्शनमा आएको यो फिल्म व्यावसायिक रुपमा सफल भएपछि उनले यसको सिक्वेल निर्माणको घोषणा गरिसकेका छन्।
आफ्नो जन्मदिनको अवसर पारेर उनले नयाँ फिल्म निर्देशन गर्न लागेको घोषणा गरेका हुन् । ‘दिमाग खराब २’लाई २०८३ सालको दशैंमा प्रदर्शन गर्ने उनको तयारी छ । यो फिल्मभन्दा अगाडि निश्चिलले दुईवटा फिल्म बनाउनेछन् । एउटा हो, ‘बेहुली फ्रम मेघौली’ । यसमा उनी निर्माता र कलाकारको रुपमा रहनेछन् । अर्को फिल्म भने उनी आफैंले निर्देशन गर्नेछन्, जुन एक्सन जनरामा बन्नेछ । बिहीबार साँझ १२ बजे आफ्नो जन्मदिनको अवसरमा उनले फेसबुकमा स्टाटस लेख्दै अर्को वर्षको दशैंअघि एक्सन फिल्म बनाउन लागेको घोषणा गरेका हुन् फिल्मको बारेमा निश्चलले अरु केही पनि बताएका छैनन्।
निश्चलले फिल्म ‘लुट २’पछि ‘दिमाग खराब’को निर्देशन गर्नका लागि ७ बर्ष लगाएका थिए । तर, अब निश्चलले नयाँ फिल्म निर्देशनका लागि समय नलगाउने निश्चित भएको छ ।
नेपालमा एउटै शैलीका फिल्महरूको निर्माण धेरै भयो भन्ने गुनासो सुनिन थालेको छ । यस्तो अवस्थामा निश्चलले अब एक्सन फिल्म निर्देशनमा हात हाल्नु सुखद कुरा हो । सफल निर्देशक बस्नेतलाई जन्मदिनको धेरै धेरै शुभकामना ।