काठमाडौं। सुरज सुनुवारको निर्देशनमा निर्माण भैरहेको सिनेमा ‘खजुरे ब्रो’को सोमबार राजधानीमा औपचारिक घोषणा गरिएको छ । माघे संक्रान्तीको अवसरमा राजधानीमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले सिनेमाको घोषणा गरेको हो ।
मोडल नीति शाहले फिल्म ‘खजुरे ब्रो’ आफ्ना लागि लक्की भएको बताएकी छन् । यस अगाडि केही फिल्ममा अनुबन्धित भएपनि अभिनय अवसर नमिलेको बताएकी शाहले ‘खजुरे ब्रो’बाट अभिनयमा डेब्यु गर्न पाउँदा निकै खुसी लागेको सुनाइन् । ‘डेब्युका लागि हतारिएर फिल्म रोजेको होइन, यो फिल्मको कथा र टिम सबै मनपरेको छ’, शाहले थपिन् ।
नेपाली सिनेनगरीमा ४ वटा फिल्म साइन नगरेर पनि डेब्यु गर्न नसकेकी अभिनेत्री हुन् नीति शाह। उनले एकपछि अर्को फिल्म ‘हुतुतु’, ‘एक्स ९’, ‘क्यामिनो’ र ‘रावायण’मा साइन् गरिन्। तर, साइन गरे जति कुनै पनि फिल्म बनेनन्। उनको नाम जोडिएका अधिकांश फिल्म लफडामा परे। उनले पछिल्लो समय खेल्ने भनिएको फिल्म ‘रावायण’मा अनमोल केसीले पेस्की लिएर नखेल्ने भनेपछि जेलसम्म पुग्नु परेको थियो। ती भन्दा अघिका फिल्म निर्माता र निर्देशक बीचको किचलोले बन्न सकेनन्।
सुनुवारकै लेखन रहेको फिल्म धरानमा चर्चित व्यक्ति ’खजुरे ब्रो’ को नाम र उही चरित्रमा निर्माण गर्न लागिएको हो। फिल्ममा महेश त्रिपाठी, नविन मानन्धर, प्रकाश भुजेल, बिनिता थापा मगर, सुष्मा निरौला, पुस्कर कार्की, मनिष राउत, प्रेम सुब्बा र सुजाता राईको पनि अभिनय रहनेछ।
नवीन मानन्धर र सुरज सुनुवारले निर्माण गर्न लागेको फिल्मका कार्यकारी निर्माता डायमन्ड उप्रेती हुन् । शिशिर बिसंखेले छायाङ्कन गर्ने फिल्मको सुटिङ सुरु भएको छ । केहि दिनको काठमाडौँको छायाँकनपछि युनिट धरान प्रस्थान गर्नेछ । अनमोल गुरुङको सङ्गीत रहने फिल्म काठमाडौँ, धरान र दार्जिलिङ छायाङ्कन हुनेछ । फिल्मको सह–निर्माता अनिल मानन्धर र पिकेश मानन्धर हुन् ।
दिब्य दृश्य इन्टरटेन्टमेन्टले निर्माण गर्न लागेको फिल्ममा मान्द्रो प्रोडक्सन र मल्टी प्रपोजको सहकार्य छ।