Skip to main content

रेखा थापा निर्मित तथा अभिनीत फिल्म ‘उपहार’ को चारवटा पोस्टर सार्वजनिक गरिएको छ। फिल्मको दुई वटा गीत सार्वजनिक गरेपछि यसको निर्माणपक्षले चार फरक पोस्टर सार्वजनिक गरेको हो ।माघे संक्रान्तिको अवसर पारेर निर्माण टिमले फिल्मका चार पोस्टर सार्वजनिक गरेका हुन्। एक पोस्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुषाललाई स्थान दिइएको छ। चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ भने मुकुन भुषाल ह्विलचेयरमा बसेका छन्।

दोस्रो पोस्टरमा रेखासहित बेनिशा हमाल, पूजा शर्मा, मुकुन भुसाललाई रोमान्टिक भावमा चित्रण गरिएको छ । तेस्रो पोस्टरमा बेनिशा र तेज गिरीलाई बेहुला-बेहुली अवतारमा पेश गरिएको छ ।

चौथो पोस्टरमा मुकुनलाई ह्वीलचेयरमा देखाइएको छ । पृष्ठभूमिमा उडेको जहाज देखाइएको छ ।

फिल्मका कार्यकारी निर्माता बलराम शाही हुन् । फिल्ममा विष्णु कल्पितको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, मित्र डी गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको एक्सन छ ।