काठमाडौं । चैत्रको ९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘महाजात्रा’मा समावेश ‘आहा क्या राम्रो’ बोलको गीत रिलिज गरिएको छ । आशिष अविरल र अस्मिता अधिकारीको स्वर, एक नारायण भण्डारीको शब्द र आशिष अविरलकै संगीतमा तयार भएको यो गीतले दर्शकलाई झुमाउने निश्चित छ ।
गीतको भिडियोमा अतिथि कलाकारद्वय अरुण क्षेत्री र आश्मा विश्वकर्माको धमकेदार डान्स हेर्न सकिन्छ । यस्तै, गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू विपिन कार्की, रवीन्द्र झा, रवीन्द्र सिंह बानियाँ र वर्षा राउतको पनि नृत्य हेर्न सकिन्छ । तर, फिल्मका मुख्य कलाकार हरिवंश आचार्यलाई भने यो गीतमा समावेश गरिएको छैन ।
अरुण र आश्मा गीतमा मात्र रहेको निर्देशक प्रदीप भट्टराईले जानकारी दिए । सिनेमामा ‘सुहाउँदो गीत भएकाले राखिएको हो । यसलाई हामीले प्रचार प्रसारका लागि तयार गरेका हौँ’, निर्देशक भट्टराईले भने । एक सय भन्दा बढी कोरस प्रयोग गरेर तयार गरिएको गीतलाई कविराज गहतराजले नृत्य निर्देशन गरेका छन् । ‘पहिला गीत भनेपछि सहजता महसुश गर्दिन थिएँ । तर, अहिले बानि परिसकेको छ । किनकि नृत्यको मेरो आफ्नै शैली छ’, अभिनेता कार्कीले भने । निर्देशक भट्टराईले सिनेमामा मार्फत प्रस्तुत गर्दै आएको भावमै रहेर कथा तयार गरिएको बताए । अर्थात् यसमा हासो र रोदनको मिश्रण छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् । फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, मित्र डी गुरुङको सम्पादन छ ।
जात्रा र जात्रैजात्राको व्यावसायिक सफलतापछि फिल्मको यो तेस्रो श्रृंखला हो । पैसा कमाउन जेसुकै परिस्थितिको सामना गर्न बाध्य मध्यमवर्गको संघर्ष यसमा प्रस्तुत छ । राजनीति र पैसाको नेक्ससको चित्रण पनि यसमा छ । गत साता सार्वजनिक फिल्मको पोस्टरले कथावस्तुबारे दर्शाउँछ ।
फिल्म चैत ९ गते नेपालसहित अमेरिका, अष्ट्रेलिया र युरोपमा रिलिज हुँदैछ ।