नविन सुब्बा निर्देशित फिल्म ‘गाउँ आएको बाटो’ युरोप स्वीडेनको ४७औं ‘गोटेबर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’मा छनोट भएको छ ।
यही जनवरी २६ देखि फेब्रुअरी ४ तारिखसम्म चल्ने महोत्सवमा फिल्मको युरोपियन प्रिमियर हुने जनाइएको छ । यसअघि यो फिल्म टोरन्टो फिल्म फेस्टिभल, बुसान फिल्म फेस्टिभल तथा मुम्बई फिल्म फेस्टिभलमा समेत छनोट भएर प्रदर्शन भैसकेको छ । फिल्ममा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारको अभिनय छ।
फिल्मले पूर्वी नेपालको हिमाली क्षेत्रमा बाँसको चोयाबाट डोकाडालो बनाएर जीवन यापन गर्ने माइला (दया), माइली (पशुपति राई) र उनीहरूको सात वर्षे छोरा बिन्द्रे (प्रसान राई) को गाँउमा मोटरबाटो भित्रिएसँगै आएका आधुनिक परिवर्तनले ल्याउने उथलपुथल, संघर्षको कथा पेस गर्छ। महेश राई र निर्देशक सुब्बा मिलेर फिल्मको पटकथा लेखेका हुन् ।
यो फिल्म छोमोलोङमा प्रोडक्सन र गाँउघर फिल्म प्रडक्सनको सहयोगमा मेन्छ्याम पिक्चर्सको ब्यानरमा निर्माण भएको हो। नेपालमा यो फिल्म बाँसुरी फिल्मसको संयोजनमा नेपालमा २०८१ जेठ १८ बाट सार्वजनिक प्रर्दशनमा आउने छ।