काठमाडौं । प्रदीप खड्काको आगामी फिल्म ‘एक्टर’को शीर्ष नायिकामा आना शर्मा अनुबन्धित भएकी छन् । आनासँग केही दिनअघि लिखित सम्झौता भएको निर्माता थमन भण्डारीले जनाए । अब पहिलोपटक प्रदीप र आना फिल्ममा जोडीको रुपमा प्रस्तुत हुनेछन् ।
अमेरिकामा रहेका अभिनेता राजबल्लभ कोइरालासँग लिखित सहमति हुन बाँकी रहेको भण्डारीले बताए । ‘राजबल्लभजीले स्क्रिप्ट मन पराउनुभएको छ । उहाँले ओके भनेर फिल्मको सेड्युल माग्नुभएको छ । हामी सेड्युल मिलाउँदैछौं,’ भण्डारीले भने, ‘उहाँले खेल्ने निधो भएको छ ।’ यसअघि प्रदीपले काम गर्ने भनिएको फिल्म ‘कामिनो’मा पनि राजबल्लभ भित्रिएका थिए । तर, छायांकनमा ढिलाई हुँदा उनी सहमतिमै अलगिएका थिए ।
फिल्ममा दुईजना अभिनेत्री रहनेछन् । अर्को अभिनेत्रीमा निर्माण टिमले स्वस्तिमा खड्कालाई प्रस्ताव राखेको जनाइएको छ । उनी पनि काम गर्नका लागि सकारात्मक देखिएको जानकारी प्राप्त छ । त्यस्तै, एक विशेष भूमिकामा अभिनेता राजेश हमाललाई अफर गरिएको छ । फिल्ममा अभिनेता सौगात मल्ल पनि भित्रिन सक्ने चर्चा थियो । तर, उनले व्यस्तताका कारण नभ्याउने भएका छन् ।
वैशाख पहिलो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आगामी तिहारमा प्रदर्शनको तयारी छ । फिल्मले नेपाली चलचित्र क्षेत्रकै हिरोको कथा पेश गर्ने उनले जनाए ।यो फिल्मलाई राजन भुसालले निर्देशन गर्दैछन् ।