काठमाडौं । आगामी फागुन २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘रङ्गेली’को थप दुईवटा नयाँ पोस्टर सार्वजनिक गरिएको छ । एउटामा अभिनेताद्वय दयाहाङ राई र अर्पण थापालाई क्रोधित मुद्रामा आमने-सामने बनाइएको छ ।
उनीहरु ग्याङस्टार लुक्समा प्रस्तुत छन् । अर्को पोस्टरमा अभिनेत्री मिरुना मगरसँग दयाहाङको प्रेम देखाउन खोजिएको छ । दुवै निराश मुद्रामा चित्रित छन् ।
अर्जुन सुवेदीको लेखन तथा निर्देशनमा निर्माण भएको सिनेमामा प्रवीण खतिवडा, रमेश बुढाथोकी, रबीन बोगटी लगायतको पनि अभिनय रहेको छ । ग्याङस्टार कथामा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् । निर्मातामा संसार चौलागाई र रमेश भट्टराई वशिष्ठ छन् ।
अमेरिकामा कलाकारसहित भिआइपी रेड कार्पेट प्रिमियर हुने यो चलचित्र नेपालसँगै नेपालीहरूको बसोबास रहेका अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, हङकङ लगायतका विश्वका विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुनेछ ।
जापान, कोरिया र हङकङमा उज्ज्वल गुरागाईँ र यूएनए इन्टरटेन्मेन्ट, अमेरिकामा ‘एक्का बास्सा इन्टरटेन्मेन्ट’ र ‘लाइभ एट प्रिजेन्ट’ले ‘रङ्गेली’ रिलिज गर्दैछन् । ओएसआर डिजिटल चलचित्रको डिजिटल वितरक हो ।