काठमाडौं । अभिनेता सौगात मल्ल फिल्म ‘रिमै’मा अनुबन्धित भएका छन् । यसअघि फिल्ममा ‘कबड्डी’ जोडी रिश्मा गुरुङ र दयाहाङ राई पनि जोडिएका थिए । त्यसो त ‘कबड्डी’मा रिश्मा र दयाको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए ।
खिलबहादुर गुरुङले निर्देशन गर्ने यस फिल्मलाई गोरखा सिरानचोक एण्ड लिगलिग कोट फिल्म्स प्रालिले निर्माण गर्न लागेको हो । रिमैमा दया, रिस्मा र सौगातसँगै अभिनेता वीरबल घलेको पनि मुख्य भूमिका रहनेछ।
वीरबल घलेले यहि फिल्मबाट नेपाली रजतपटमा डेब्यू गर्दैछन् । उपेन्द्र सुब्बा फिल्मका पटकथा लेखक हुन् भने कथा निर्देशक गुरुङ र अभिनेता घलेले लेखेका हुन्।
सिनेमा गोरखा सिरानचोक एन्ड लिगलिगकोट फिल्म्स प्रालिको ब्यानरले निर्माण गर्न लागेको फिल्मको कार्यकारी निर्मातामा टीका गुरुङ (युके), प्रकाश गुरुङ (युके), जित यात्री गुरुङ (नर्वे) तथा सचिकुमारी घले रहेका छन् भने दुन बहादुर घले, हेमा गुरुङ तथा विजय लामा फिल्ममा सह-निर्माताका रूपमा रहनेछन्।
अहिले प्रि-प्रोडक्सन चलिरहेको फिल्मको फागुनदेखि छायांकन हुने निर्माण टिमले जनाएको छ ।