रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ।
सार्वजनिक पोस्टरमा फिल्मका शीर्ष पात्र ‘डिग्री माइला’ बनेका दयाहाङ राईलाई प्रस्तुत गरिएको छ। पोस्टरमा उनलाई काठको बेन्चीमा गम्भिर मुद्रामा देख्न सकिन्छ। उनले चश्मासमेत लगाएका छन्। योसँगै उनलाई जुँगा पालेको पनि देख्न सकिन्छ।
बाँसुरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्मले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा भन्छ। यही नाममाथि अभिनेता दयाको निर्देशनमा केही वर्षअगाडि नाटकसमेत प्रदर्शन भइसकेको छ। सोही नाटकलाई फिल्मका रूपमा पर्दामा प्रस्तुत गर्न लागेको हो।
फिल्ममा दयाहाङ बाहेक आँचल शर्मा, विजय बराल, बुद्धि तामाङ लगायतका कलाकारको पनि अभिनय छ । फिल्म ‘डिग्री माइला’को केही दृश्यको छायांकन हुन अझै बाँकी नै छ । तर, फिल्म रिलिजका लागि साढे ३ महिना बाँकी रहँदा निर्माणपक्षले भने प्रचार आरम्भ गरेको छनक दिएको छ ।
आउँदो बर्षको सुरुवातमै बक्स अफिसमा धमाका गर्ने अपेक्षा गरिएको यो फिल्म निर्देशक रामबाबुका लागि पनि चुनौतीपूर्ण छ । किनकी, ‘कबड्डी’ सिरिजबाहेक अन्य फिल्ममा सफल हुन नसकेका रामबाबुलाई यो फिल्म सफल बनाउनुपर्ने चुनौती छ ।