Skip to main content

काठमाडौं । दिनेश राउतको निर्देशन रहने फिल्म ‘गाउँ नै रमाइलो’ मा अभिनेताको रुपमा दयाहाङ राई र आर्यन सिग्देल फाइनल भएका छन्। निर्माता हिमाल कडरियाले फिल्मका लागि दयाहाङ र आर्यन फाइनल भएको जानकारी दिए ।

बुधबार निर्माण टिमले फिल्म घोषणा गर्दै उनीहरू अनुबन्धित भएको जानकारी दिएको हो। फिल्ममा अन्य कलाकार छनोट गर्न बाँकी रहेको निर्देशक राउतले बताए।उनका अनुसार यो फिल्म सामाजिक कथामा आधारित हुनेछ। फिल्मको कथा विकास सुवेदीले लेखेका हुन्।

यस वर्षको सुपरहिट फिल्म ‘नाङ्गो गाउँ’का निर्माता हिमाल कडरियाले यस फिल्मको निर्माण घोषणा गरेका हुन् । फिल्म ‘पूजार सार्की’को काम सकेपछि ‘गाउँ नै रमाइलो’को छायांकन सुरु गर्नेछन् । निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरिसकेको छ। यो फिल्म आगामी दसैंमा रिलिज गरिनेछ।

दयाहाङ र आर्यनले दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि ‘मेरो एउटा साथी छ’मा सँगै काम गरेका थिए । क्लक–वर्क क्रियसनको ब्यानरमा निर्माण हुने यो फिल्मले गाउँको कथालाई रोचक तरिकाले प्रस्तुत गर्ने बुझिएको छ ।