काठमाडौं । मण्डला नाटक घरमा पुस १२ गतेबाट मञ्चन हुने नाटक ‘पगला घोडा’को टिजर सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलबाट नाटकको टिजर सार्वजनिक भएको हो ।
टिजरलाई पिक्सेल स्क्वायरले निर्माण गरेको हो । टिजरमा अशान्त शर्मा, प्रमोद अग्रहरि, विजय ताम्राकार, विम्ब अधिकारीको पनि क्यारेक्टर नाम र हुलिया प्रस्तुत गरिएको छ । सुकेको फूलको दृश्य र तास खेल्दै गरेका केही विम्बमार्फत नाटकले कथाबारे भन्छ ।
मलिकाको अगाडि जलिरहेको आगो र उनको हतास मनस्थिति प्रस्तुत गरिएको छ । मानसिक स्वास्थ्यबारेको यो नाटकबाटै मलिकाले रंगमञ्चमा डेब्यु गर्दैछिन् । नाटकमा उनी चार पात्रको भूमिकामा देखिन लागेकी हुन् ।
थिएटर आकारको प्रस्तुति रहेको यो नाटक माघ ६ गते सम्म सोमबार बाहेक हरेक दिन मञ्चन हुनेछ साथै शनिवार भने दुई सो राखिएको छ । भारतीय सुप्रसिद्ध नाटककार बादल सरकारको कथा रहेको नाटक नेपाली भाषामा अनुवाद गर्दै मञ्चन गर्न लागिएको हो ।
नाटकको नेपाली अनुवाद शिव खाँड ठकुरीले गरेका हुन् । उनलाई अनुवादमा आलेख सुपरिवेक्षकको रूपमा कलाकार तथा निर्देशक आशान्त शर्माले सहयोग गरेका थिए । नाटकलाई घनश्याम श्रेष्ठले निर्देशन गर्दैछन् । नाटकमा सुष्मा कोइराला सहायक निर्देशक र शंकर भण्डारी स्टेज म्यानेजरको रूपमा छन् ।
२०६८ सालमा स्थापना भएको थिएटर आकारले थुप्रै नाटकहरू मञ्चन गरिसकेको छ ।