काठमाडौं । दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच चलचित्रमा खेल्ने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा गरिएको हो।
चलचित्रमा रमेश उप्रेती र सलोन बस्नेत पनि मुख्य भूमिकामा खेल्दै छन् भने मोडल तथा टिकटकर सिम्रन पन्त र मिस पवीले पनि यसै चलचित्रबाट अभिनयमा डेब्यु गर्दै छन्।
सबिन कुमार तोलांगी डेब्यु निर्देशित फिल्ममा अभिनेत्री आँचल शर्मा, रमेश उप्रेती, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, अर्जुन श्रेष्ठ, रेशम गुरुङ, अजयकुमार रोका, अजय लामा, दिनेश सिग्देल, पूजा भण्डारी, सिम्रन पन्त र मिस पविलगायत कलाकारको अभिनय रहने छ।
करिब चार करोड बजेटमा बन्ने भनिएको फिल्मको माघ पहिलो सातादेखि अष्ट्रेलियाबाट छायांकन सुरू गरिनेछ। त्यसपछि न्युजिल्यान्ड र नेपालमा फिल्मको छायांकन हुनेछ। फिल्मलाई पुरुषोत्त प्रधानले छायांकन गर्नेछन्।
निर्देशकसमेत रहेका ऋषि लामिछाने कार्यकारी निर्माता रहेको राजमहलका मुख्य निर्माता शोभा श्रेष्ठ र यशबहादुर गुरुङ रहेका छन् भने अन्तर्राष्ट्रिय निर्मातामा अनिल पाण्डे र प्रिन्स युवराज कार्की जोडिएका छन्। त्यसैगरी सहनिर्मातामा साहिल श्रेष्ठ, झगेन्द्र धिमाल र माधव गहतराजले अस्ट्रेलियातर्फबाट सहकार्य गरेका छन्।
कार्यक्रममा निर्देशक तोलांगले चलचित्रको कथालाई न्याय गर्ने गरी आफूले निर्देशन गर्ने प्रतिबद्धता जनाएका छन भने अभिनेत्री आँचलले यो चलचित्रको कथाअनुसार उत्कृष्टता प्रदर्शन गर्न आफू आतुर रहेको बताइन्। अभिनेता रमेश उप्रेतीले चाहिँ अहिले नै आफूले ठूलो कुरा नगर्ने र चलचित्रको छायांकन सकिएपछि सबिस्तार बोल्ने बताए।
कार्यक्रममा राजदरबारको प्रसंग निस्किँदा नेपालको राजदरबारबार हत्याकाण्डको विषयमा कलाकारहरूले फरक–फरक मत राख्दा रमेश उप्रेतीले भने दरबार हत्याकाण्डमा युवराज दीपेन्द्रको नै भूमिका हुने ठोकुवासमेत गरेका छन्।
फोटो फिचर