Skip to main content

काठमाडौं । यतिबेला प्रदीप भट्टराई लिखित तथा निर्देशित फिल्म “महाजात्रा” को छायांकन भइरहेको छ। मंगलबार फिल्ममा समावेश एक गीत टुँडिखेलमा छायांकन भइरहेको थियो।

उक्त गीतमा आश्मा विश्वकर्मा र अरुण क्षेत्रीलाई देख्न सकिन्छ। उनीहरूसँगै फिल्मका अन्य कलाकारलाई पनि गीतमा समावेश गरिएको छ। एकनारायण भण्डारीको शब्द, आशिष अविरलको सङ्गीत र आशिषसँगै अस्मिता अधिकारीको स्वर रहेको ‘क्या राम्रो’ गीतमा कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका छन् ।

फिल्मका निर्माता म्याक्स दीपेश खत्रीले गीतको छायाङ्कन सकिएसँगै इन्ड–कल्याप हुने जानकारी दिए । ‘हामी बुधबार साँझ छायाङ्कन सकाउँछौँ । हामीले तय गरेको तालिकाअनुसार नै काम सम्पन्न गरेका छौँ । अब हाम्रो तयारी प्रचारप्रसार र रिलिजमा हुनेछ’, निर्माता खत्रीले भने ।

फिल्मको एउटै स्थानमा तीन छुट्टाछुट्टै दृश्यको छायांकन भईरहेको छ । जसले त्यहिँ काम गर्नेलाई पनि रमाइलो आभाष गराएको छ । ‘हामीले गीतसँगै दृश्य एकैपटक खिचिरहेका छौँ । हामी कहाँ प्रोपर स्टुडियो नहुँदा खुल्लामञ्चलाई नै स्टुडियो मानेर तीन विभिन्न दृश्यको छायांकन एकसाथ गरिरहेका छौं’, निर्देशक भट्टराईले भने ।

फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्कालगायत कलाकारको अभिनय छ। फिल्मलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन्।

फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’को व्यावसायिक र समीक्षात्मक सफलता पश्चात षट्कोण आर्ट्सको निर्माणमा तेस्रो शृङ्खला ‘महाजात्रा’ मा जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रुपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रुपले प्रस्तुत गरिएको छ ।आगामी चैत ९ गते ‘महाजात्रा’ नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

फोटो फिचर