Skip to main content

काठमाडौं । सन् २०१९ मा पहिलो चलचित्र ‘बुलबुल’ निर्देशन गरेर नेपाल सरकारले प्रदान गर्ने सर्वोत्कृष्ट निर्देशकको राष्ट्रिय चलचित्र पुरस्कार पाएका विनोद पौडेलले नयाँ चलचित्रको पोस्टर र नाम सार्वजनिक गरेका छन् ।

नेपालीमा ‘भूठान’ र अङ्ग्रेजीमा ‘द वल्र्डस् ह्याप्पिएस्ट म्यान’ नाम रहेको यो चलचित्रको मुख्य भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्यका साथै दयाहाङ राई, जोयस पाण्डेय, अनुराधा मजुमदार, पूजा चन्दलामा, रिचा घिमिरे, अदिति प्याकुरेल, टम क्रेन, विमल सुवेदी तथा कौशिला खनाल कर्माचार्य अनुबन्धित भएका छन् । यो चलचित्रमा हलिउडका एक नामुद कलाकारलाई पनि अनुबन्ध गर्न लागिएको जनाइएको छ ।

यस फिल्मले भुटानदेखि भारत ,नेपाल हुँदै अहिले अमेरिकामा बसोवास गरिरहेका भुटानीहरुको देशप्रेम र जीवनयात्राको कथा समेटेछ।

पौडेलकै कथा रहेको फिल्ममा अविरल थापा, राजेन्द्र ठकुराठी र अमिताभ जोशी निर्माताको रुपमा जोडिएका छन्। निर्माता अविरल थापाले यो चलचित्र विश्व बजारको लागि बनाउन लागिएको र अन्तर्राष्ट्रिय चलचित्रको भिडमा अलग्गै पहिचान कायम गर्नेमा आफू विश्वस्त रहेको बताए।

चलचित्रको सम्पूर्ण छायाँकन अमेरिकाको ओहायो राज्यमा हुनेछ भने यस चलचित्र नेपाली एवं अंग्रेजी भाषामा निर्माण हुनेछ। सन् २०२४ को अन्त्यसम्म छायाङ्कन सकिने फिल्म सन् २०२५ मा प्रदर्शन हुनेछ।

यस चलचित्रलाई अमेरिकाको म्याड मंकी फिल्मसले निर्माण गर्नेछ। साथै अमेरिकाकै डग इयर्ड फिक्चर्स र नेपालको अवेकन प्रोडक्सनले सहकार्य गर्नेछन्।