काठमाडौं । प्रदीप भट्टराईको निर्देशन रहने फिल्म ‘महाजात्रा’को बुधबार शुभमुहूर्त गरिदै छायांकन सुरु भएको छ । बुधबार काठमाडौंको शोभा भगवतीस्थित विजेश्वरी मन्दिरमा फिल्मको शुभमुहूर्त गरिएको हो।
बुढानीलकण्ठमा निर्माण गरिएको भव्य सेटबाट फिल्मको छायांकन सुरु भएको निर्माण टिमले जनाएको छ । पहिलो दिन अभिनेता विपिन कार्कीका दृश्य खिच्ने तयारी रहेको छ । साथै ४५ दिनको छायांकन सेड्युल तय गरिएको यस फिल्मलाई काठमाडौं र जनकपुरमा खिचिनेछ।
फिल्ममा हरिवंश आचार्य, विपीन कार्की, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, दिव्य देव, गौमाया गुरुङ, शिशिर वाङदेल, प्रकार घिमिरे, प्रविन खतिवडा, अर्जुनजंग शाही, अरविन खड्का लगायत कलाकारहरुको अभिनय रहने छ। फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गर्नेछन्।
यस अघि प्रदर्शनमा आएकाे ‘जात्रा’ र ‘जात्रै जात्रा’ले नेपाली बक्स अफिसमा राम्रो व्यापार गरेको थियो । ‘महाजात्रा’ चैत ९ गतेदेखि प्रदर्शन हुनेछ ।